माओवादी केन्द्र किन सरकारमा गएन ?
प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि वाम गठबन्धन गरेका एमाले र माओवादी केन्द्रबीचको सम्बन्ध नयाँ सरकार गठनका बेला चिसिएको छ । आफू प्रधानमन्त्री बन्ने बेला एमाले अध्यक्ष केपी ओलीले माओवादीबाट पनि मन्त्री हुनेका नाम मागेका थिए । तर, माओवादी पार्टी एकता नभएसम्म सरकारमा जान नसकिने भन्दै पछि हटेपछि ओलीको सपथ खल्लो भएको छ ।
माओवादी नै सरकारमा सामेल नभएपछि ओलीलाई पहिलो गाँसमै ढुंगा लागेको विश्लेषण भइरहेका बेला एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । बैठकले एकताका विषयमा नटुंगिएका कुरा टुंगो लगाउने भएको छ । खासमा माओवादीभित्र सरकारमा कसको नेतृत्वमा सहभागी हुने भन्ने विषयले अवस्था पेचिलो भएको छ ।
तर, माओवादी केन्द्र बिहीबार नै किन सरकारमा सामेल भएन भन्ने रहस्य खुलेको छ । खासगरी कुन नेताको नेतृत्वमा पार्टी सरकारमा जाने भन्ने विषयमा माओवादी केन्द्रमा मारामारको स्थिति छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं कसको नेतृत्वमा सरकारमा पठाउने भन्ने द्विविधामा छन् ।
माओवादीमा वर्षमान पुन र जनार्दन शर्माबीच नेतृत्वको विषयमा ठूलो प्रतिस्पर्धा छ । पुन भारतीय संस्थापन निकट हुन् भने शर्मा प्रधानमन्त्री ओली निकट । माओवादीकै वरिष्ठ नेता रामबहादुर थापा बादललाई सुरुमा राष्ट्रिय सभाको अध्यक्ष बनाउने पार्टीले निर्णय गरेको थियो । सोहीअनुसार वाम गठबन्धनका साझा उम्मेदवार बादलले निर्वाचन पनि जिते । तर, अहिले आएर बादलले आफू राष्ट्रिय सभाको अध्यक्ष नबन्ने बताएका छन् । उनले आफू मन्त्री बन्न चाहेको बताएपछि प्रचण्डले उनकै नेतृत्वमा पार्टी सरकारमा पठाउने गृहकार्य सुरु गरेको बुझिएको छ ।
स्रोतका अनुसार बादललाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री वा परराष्ट्रमन्त्रीको जिम्मेवारी तोकिने भएको छ । यसपटक माओवादी केन्द्रबाट कृष्णबहादुर महरा मन्त्री बन्न पाउने छैनन् । प्रचण्डले दीनानाथ शर्मालाई मन्त्री बनाउने भएका छन् । बादलले सरकारमा पार्टीको नेतृत्व गर्ने भएकाले उनले कुनै राम्रै मन्त्रालय पाउन सक्ने बताइएको छ ।