आहा–रारा गोल्डकपको फाइनलमा पुलिस र थ्रीस्टार भिड्ने
लेखनाथ — चार/चारपल्टका उपाधि विजेता पुलिस र थ्रीस्टार १६ औं आहा-रारा गोल्डकपको फाइनलमा भिड्ने भएका छन् । पोखरा रंगशालामा बिहीबार धरानलाई धरानलाई १–० को झिनो अन्तरले हराउँदै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको हो ।
पुलिसको जितमा खेलको २३ औं मिनेटमा पाएको पेनाल्टी निर्णायक बन्यो । धरानका रोमन लिम्बूले पुलिसका रवी पाश्वानलाई पेनाल्टी एरियामा लडाएपछि पाएको पेनाल्टी सुमन लामाले सेकेन्ड बार च्यापेर प्रहार गर्दै गोलमा परिणत गरे । एक गोलले पछि परेपछि दबाबमा परेको धरानले दोस्रो हाफमा पाएका केही अवसरको सदुपयोग गर्न सकेन । खेलमा पुलिसका गोलकिपर शत्रुघन चौधरी म्यान अफ दी म्याच भए ।
धरानले प्रि-क्वाटरफाइनलमा भारतको युनाइटेड सिक्किम र क्वाटरफाइनलमा आर्मीलाई पराजित गरेर सेमिफाइनल यात्रा तय गरेको थियो । पुलिसले यसअघि प्रि-क्वाटरफाइनलमा रमपम झापा ११ र क्वाटरफाइनलमा मनाङ मस्याङ्दीलाई हराएको थियो ।