युकेमा सिमि नासाको भव्य प्रदर्शन
शुक्रबार १३ सेप्टेम्बर २०१९ मा एम्पायर हल, अल्डरशोटमा तमु शास्त्रमा आधारित तमु भाषाको चलचित्र सिमि नासा (पितृ लोक) भव्य र सभ्य रुपमा प्रदर्शन भएकोछ । निर्माता भेग च्हाक्ली तमुको संयोजनमा प्रदर्शन गरिएको उक्त प्रिमियर शोमा दर्शक श्रोताको बाक्लो उपस्थिति रहेको थियो ।
चलचित्र प्रदर्शनीमा तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमु एमभिओ, तमु धिँ युकेका बरिष्ट उपाध्यक्ष हितकाजी तमु र तमु समाज युकेका पूर्व अध्यक्ष शिव शरण तमुको आतिथ्यता रहेको थियो । त्यसैगरि चलचित्रकर्मी एकेन्द्र तमु लगायतका विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थिति रहेको थियो । तमु प्ये ल्हु संघ युकेका अध्यक्ष मे. खुसीमान ल्हेँगे तमु एमभिओ, तमु धिँ युकेका बरिष्ट उपाध्यक्ष हितकाजी तमु र तमु समाज युकेका पूर्व अध्यक्ष शिव शरण तमुले संयुक्त रुपमा दीप प्रज्वलन गरी शुभारम्भ गरिएको उक्त प्रिमियर शोको चलचित्रकर्मी एकेन्द्र तमुले फिल्म प्ले गरेर शो प्रदर्शन गरेका थिए ।
तमु फिल्मस् प्रा.लि. पोखराको व्यानरमा निर्मित उक्त चलचित्रले मान्छेको भौतिक शरिर मरेर गए पनि उसको आत्मा कहिल्यै मर्दैन भन्ने तमु समुदायमा विद्यमान विश्वासलाई कलात्मक ढंगले प्रस्तुत गरेकोछ । मौलिक परम्परागत संस्कार सँस्कृतिलाई वेवास्ता गर्दा भोग्नु पर्ने समस्या र त्यस समस्याले निम्त्याउने भयवह स्थिति आदीको बारेमा केलाएर देखाउने प्रयास गरेको छ ।
निर्देशक करण गुरुङ्ग (गोरा) द्धारा निर्देशित सिमि नासा चलचित्रले तमु समुदायमा रहेको साँस्कृतिक मूल्य–मान्यतालाई कलात्मक ढंगले प्रस्तुत गरेको छ भने गंगा गुरुङ्गको परिकल्पनामा ई. रोशन गुरुङ्गले लेखेको कथालाई सिर्जनात्मक रुपमा छायाँकन गरिएकोछ । त्यसैगरी सजिलै बुझ्न सकिने सरल सम्वादलाई भेष गुरुङ्ग, बसन्ती गुरुङ्ग, प्रतिमा गुरुङ्ग, खुशी गुरुङ्ग, थमन गुरुङ्ग र दिपक गुरुङ्ग (मास्टर) लगायत अन्य कलाकारहरुको अभिनयले सुन्दर रुप दिएकोछ ।
सिमि नासा हेरी सकेपछि आएको दर्शकहरुको प्रतिक्रियाको आधारमा सिमि नासा एउटा उत्कृष्ट चलचित्र हो भन्ने बुझ्न सकिन्छ । दर्शकहरुले चलचित्र पुनः हेर्न चाहेको प्रतिक्रिया दिए भने निर्माता भेग च्हाक्ली तमुले दर्शक श्रोताको ईच्छा अनुसार पुनः प्रदर्शन गर्ने सोच बनाएको बताएका छन् ।
photo - Gurkha media