के तमुहरुको गोत्र हुन्छ ?
ई–रोशन थिम्जे तमु वालिङ–४, स्याङ्जा |
गोत्र के हो ? गोत्रलाई अंगे्रजीमा clan भनिन्छ । तमुहरुको गोत्र हुन्छ कि हुदैन भन्ने कुरा थाहा पाउन गोत्र के हो बुझनु आवश्यक छ । गोत्रको काम के हो ? गोत्रले के जनाउछ ? जस्ता कुराहरु थाहा पाउनु जरुरी हुन्छ । गोत्रबारे थाहा पाउन समाजको नातेदारी व्यवस्था (kinship system) बुझनु जरुरी हुन्छ । Kinship भन्नाले मानिसहरु बीचको नाता/सम्बन्धलाई बुझिन्छ । विशेषगरि Kinship तीन प्रकारका हुन्छन् । १. Affinal kinship (बिहेबाट हुने नाता/सम्बन्ध) २. Consanguineal kinship (रगतबाट हुने नाता/सम्बन्ध) ३. Fictive kinship (न बिहे, न रगतको सम्बन्ध, जस्तै मेतेरी साइनो) वास्तवमा, गोत्रले kinship छुट्याउछ । एउटै पुर्खाका सन्तानहरु बीच रगतको नाता blood relationship हुन्छ । त्यसैले उनीहरु दाज्युभाई, दिदीबहिनी हुन्छन् । जसलाई consanguineal kinship भनिन्छ । विशेगरि गोत्रबाट consanguineal kinship हो या होइन थाहा हुन्छ । अथवा रगतको नाता छ या छैन थाहा हुन्छ । नेपाली समाजमा हामीले सुन्ने गरेको गोत्र,विशेषताः हिन्दु व्यवस्था हो । हिन्दु संस्कार अनुसार एउटै गोत्र भएसी एउटै ऋषिका सन्ततिहरु भन्ने बुझिन्छ । अथवा एउटै पुर्खाका सन्तति भन्ने बुझिन्छ । जस्तै कुनै दुई जना व्यक्तिको गोत्र भारद्धाज हो भने, यसको अर्थ, उनीहरुको ancestor (पुर्खा) एउटै हो भन्ने बुझिन्छ । रगतको नाता छ भन्ने बुझिन्छ । Consanguineal kinship बुझिन्छ । विवाहको लागि केटा र केटी बीच रगतको नाता छ कि छैन छुट्याउनु जरुरी हुन्छ । त्यसैले हिन्दुहरुले गोत्रको प्रयोग गर्छन् । उदाहरणको रुपमा, पौडेल र अर्याल फरक थर हो । तर उनीहरुको गोत्र एउटै हुन्छ । त्यसैले विवाह हुदैन । थर फरक छ, तैपनि विवाह हुदैन । किनकी गोत्र एउटै छ । गोत्र एउटै भएसी पुर्खा एउटै हुन्छ । तर पोखरेल थर भित्र फरक फरक गोत्रहरु हुन्छन् । त्यसैले थर एउटै भएता पनि पोखरेल पोखरेल बीच विवाह हुन सक्तछ । हिन्दुहरुलाई गोत्रको आवश्यक किन भयो ? हिन्दु समाजमा थरबाट मात्र स्पष्ट पहिचान हुदैन । Kinship छुटिदैन । जस्तै कसैले पौडेल, पोखरेल, अर्याल, रेग्मी थर भन्दैमा kinship थाहा हुदैन । एउटै थर बीच पनि दाज्युभाई नहुन सक्तछ । त्यसैले स्पष्ट पहिचानको लागि गोत्रको आवश्यक हुन्छ । तर गुुरुङ समुदायमा यस्तो हुदैन । थरबाट नै सबै kinship छुटिन्छ । गुरुङहरुको प्हच्यु, क्रोम्जे, ल्हेगे, थिम्जे जस्तै थुप्रै थरहरु हुन्छन् । थर थाहा हुने बित्तिकै सबै kinship स्पष्ट हुन्छ । जस्तै क्रोम्जें भन्ने बित्तिकै जुनसुकै भु–भागको क्रोम्जें होस्, consanguineal kinship हुन्छ । अथवा रगतको नाता हुन्छ । विवाह हुदैन । यहाँ बुझनु पर्ने कुरा के हो भने हिन्दु समाजमा गोत्रले जे काम गर्छ, त्यो काम गुरुङ समुदायमा थरले नै गर्छ । गुरुङ समुदायमा गोत्रको औचित्य कहाँ निर छ खै ? मैंले धेरै अनुसन्धान गरें । तर कुनै औचित्य पाइनँ । गोत्र तमुहरुको होइन । हिन्दुहरुको प्रभाव हो । यसका केही प्रमाणहरु निम्न लिखित छन्– १. गुरुङहरुसंग गोत्र सोध्यो भने उनीहरु कसैले भारद्धाज गोत्र भन्छन् । कसैले कौशिक, आत्रेय इत्यादि भन्छन् । यी सबै गोत्र हिन्दुहरुमा पाइन्छ । तमुहरुको गोत्र हुन्थ्यो भने तमु मौलिक शब्दमा गोत्रहरुको नाम हुने थियो । २. एउटै थरका तमुहरुले पनि फरक फरक गोत्र बताउछन् । यदि तमुहरुको गोत्र हुन्थ्यो भने त एउटै थरको एउटै गोत्र हुनु पर्ने होइन र ? फरक गोत्रले त रगतको नाता छैन भन्ने बताउछ । के त्यो भए गुरुङहरुको एउटै थर बीच रगतको नाता छैन र ? यो कल्पनै गर्न नसकिने कुरा हो । ३. केही समय अघि म एउटा कार्यक्रममा व्यस्त थिएँ । दुई जनासंग मेरो कुराकानी हुदै थियो । एक जना गुरुङ र अर्को घिमिरे बाहुन थिए । मैंले दुवै जनासंग गोत्र सोधें । उनीहरुले आ–आफनो गोत्र बताए । म अचम्म परें । दुवैको गोत्र एउटै रहेछ । एउटै गोत्र हुनु भनेको consanguineal kinship हुनु हो । रगतको नाता हुनु हो । के गुरुङ र घिमिरे बीच रगतको नाता छ त ? यो बडो हस्यास्पद कुरा हो । तमुहरुले गोत्र मान्नुको खतरा... माथिका तथ्यहरुबाट स्पष्ट हुन्छ, गोत्र हिन्दुहरुको व्यवस्था हो । हरेक समाजको आफनै व्यवस्था हुन्छ । गोत्रको औचित्य हिन्दुहरुमा छ । तर तमुहरुमा छैन । हिन्दु समाजमा एउटै थर भएर पनि गोत्र फरक भए विवाह हुन्छ । गोत्रलाई मान्ने हो भने यो नियमले तमु समुदायमा गम्भीर खतरा निम्त्याउने देखिन्छ । अहिले एउटै थरका तमुहरुले फरक फरक गोत्र बताइरहेका छन् । भोलिका सन्ततिहरुले गोत्र फरक रहेछ क्यारे, भनेर आफनै थरसंग विवाह नगर्लान् भन्न सकिन्न । यसबारे बेलैमा सचेत हुनु जरुरी छ । बुझनु पर्ने कुरा, हिन्दुहरुमा एउटै थर बीच पनि fictive kinship हुन सक्तछ । तर तमुहरुमा एउटै थर बीच जहिले पनि consanguineal kinship हुन्छ । यहाँ थर एउटै terminology भएता पनि सन्दर्भ र अर्थ फरक छन् । गोत्रको प्रचलनले तमु समुदायमा निम्त्याउन सक्ने खतरालाई मैंले "सिमि नासा" चलचित्रमा पनि दर्शाएको छु । केही महिना पछि तपाईहरुले चलचित्र हेर्न पाउनु हुने छ । चलचित्रमा एक जना धनाढ्य तमु युवा पात्र हुन्छ, जसको मस्तिष्कमा थाहै नपाई हिन्दुको प्रभाव परेको हुन्छ । गोत्र फरक भएसी विवाह चल्छ भन्ने उसले सोच्छ । एकदिन मेलामा उसको, आफनै थरकी युवती संग भेट हुन्छ । उनीहरुको गोत्र फरक हुन्छ । उसले बिहे गर्ने सोच बनाउछ । तर यो नियम गुरुङहरुमा लागु हुदैन भन्ने उसलाई थाहा हुदैन । आफनै थरको केटीसंग विवाह गर्न खोज्छ । दाज्युभाईसंग ठुलो झगडा हुन्छ । उसले गोत्र फरक छ भनी तर्क गर्छ । दाज्युभाईहरुले स्वीकार्दैनन् । त्यसपछि उसको जीवनले बेग्लै मोड लिन्छ । बाँकी कुरा चलचित्रबाटै । प्रश्न उठ्छ, गोत्र तमुहरुको होइन भने यसको प्रभाव तमुहरुमा कसरी पर्न गयो ? यो अत्यन्तै सोचनिय विषय छ । हिजोका शासक वर्गले तमुहरुमाथि ठुलो षड्यन्त्र गरेको कुरा स्वतः पुष्टि हुन्छ । हामीलाई अन्धो बनाइएको छ । नक्कली पहिचान गराइएको छ । इतिहास बंगाइएको छ । हामी सचेत हुनु जरुरी छ । सत्य–तथ्य खोज्नु जरुरी छ । अन्त्यमा, मैंले जे जति कुरा लेखेको छु, अध्ययन स्वरुप लेखेको हुँ । मेरो कुरा आँखा चिम्लेर विश्वास नगर्न सबैलाई अनुरोध छ । अन्धोभक्त हुनु हुदैन । आफैले केही खोज्ने प्रयास गर्नुहोस् । आँखा चिम्लेर विश्वास गर्ने बानीले हामीलाई धेरै ठुलो क्षति पु¥याएको छ । मेरो भन्दा सही तथ्य, तर्कहरु तपाईहरुसंग हुन सक्तछ । भएमा प्रस्तुत गर्नुहोला । हामीलाई भ्रमबाट मुक्त हुनु छ । सत्य पत्ता लगाउनु छ । आफनो इतिहास, संस्कृतिको अध्ययन गरौं । अनुसन्धान गरौं । अरुको संस्कृति पनि माया गरौं ।