तमुहरुको आफ्नो मौलिक परम्परा अनुसार वर्षमा एक पटक चेलीबेटीहरुलाई भोज खुवाउने, खुसी पार्ने, पुज्ने र सम्मान गर्ने चलन रहेको छ । सोही पर्व “रि च्हमी स्योकैं” चेलीबेटी भोजलाई तमु सामाज युएईले पनि आफ्नो स्थापनाकालदेखि नै प्रवासको भूमिमा पनि मनाउँदै आइरहेको छ ।समाजका महिला विभाग प्रमुख पुर्णिमा तमुस्योको सभापतित्व र जेष्ठ आमा गङ्गामति तमुस्योको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा समाजलाई अघिल्लो वर्ष २०१७ भर उत्कृष्ट योगदान दिने एकजना चेली भगवती तमुस्योलाई सुनको सिक्री सहित “चेली अफ द ईयर २०१७” उपाधि प्रदान गरिएको थियो ।
त्यसैगरी गत ५ जनवरी २०१८ को दिन सम्पन्न खि ल्होसार कार्यक्रम सफल बनाउन विशेष भूमिका खेल्नु हुने कार्यक्रम संयोजक नन्द जंग तमुलाई “हिरो अफ द ल्होसार २०१८” उपाधीद्वारा सम्मान गरिएको थियो । यस वर्षको ल्होसारमा उत्कृष्ट ढंगले तमुहरुको भेषभुषा लगाएर आउने एक पुरुष र एक महिलालाई पनि “उत्कृष्ट भेषभुषा विजेता” द्वारा सोही “रि च्हमी स्योकैं” कै कार्यक्रममा पुरस्कृत गरिएको थियो । उक्त पुरस्कार विजेताहरुमा पुरुषतर्फ किरण तमु र महिलातर्फ शान्ती तमुस्यो रहेका थिए ।खि ल्होसार २०१८ मा आ–आफ्नो कला प्रस्तुत गर्ने कलाकारहरुलाई र आर्थिक सहयोग गर्नु हुने विभिन्न प्रायोजकहरुलाई पनि सम्मान गरिएको उक्त कार्यक्रममा रोयल फुटबल क्लबद्वारा आयोजित फुटबल खेल “इद कप २०१७” मा भाग लिएर पहिलो स्थान हासिल गरे बापत तमु समाज युएईका खेलाडीहरुलाई प्रसंसापत्र वितरण पनि गरिएको थियो ।झन्डै ५ घण्टासम्म लगातार खानपिन तथा नाचगान र रमाईलो गर्दै सम्पन्न भएको उक्त “रि च्हमी स्योकैं” कार्यक्रमका विशेष अथितिहरुमा समाजका वर्तमान अध्यक्ष उषा तमुस्यो, प्रमुख संरक्षक यम प्रसाद तमु, प्रमुख सल्लाहकार राजु तमु, सल्लाहकार डेर राज तमु, तमु प्येल्हु संघ युएईका अध्यक्ष ओम पच्यु तमु, निवर्तमान अध्यक्ष मुक्ति टु तमु, प्रायोजक प्रतिनिधि आदि रहेका थिए ।उक्त कार्यक्रमको औपचारिक कार्यक्रम समाजका महासचिव शिवजंग तमु र अन्य कार्यक्रम समाजका खेलकुद विभाग प्रमुख तारा तमुले गरेका थिए ।