टिकट सबै बुक तर हल खाली शेरबहादुर’लाई धोका
आर राजवंशीको निर्देशन रहेको सिनेमा ‘शेरबहादुर’ गएको शुक्रबार प्रदर्शनमा आएको सिनेमा हो ।
यो सिनेमाले मेकिङका हिसाबले खुबै तारिफ बटुल्यो । चलेका र राम्रो सिनेमा बनाइरहेका निर्माता तथा निर्देशकले समेत सिनेमाको तारिफ गरेका थिए । हलिवुड सिनेमाबाट प्रभावित ‘शेरबहादुर’ले मेकिङमा जति तारिफ बटुल्यो त्यति राम्रो कारोबार भने गर्न सकेन ।
सुरुवाती दुूई दिनमा सिनेमाको कारोवार राम्रै थियो । शुक्रबार ५५ प्रतिशत अकुपेन्सी रहेको सिनेमाको शनिबार बिदा भएका कारण ८० प्रतिशत अकुपेन्सी रह्यो । तर त्यसपछि भने सिनेमाको कारोबार लगभग बन्द जस्तै हुनपुग्यो । अकस्मात सिनेमाको कारोबार बन्द हुनुको कारण थियो बिना पैसा टिकट बुकिङ ।
सिनेमा हेर्ने भन्दै फोन र अनलाइनबाट सिनेमाका टिकटहरु बुक भए तर हलमा सिनेमा हेर्न कोही पनि गएनन् । उता सिनेमा हेर्न हलसम्म पुगेका दर्शक टिकट नपाएर फर्किए जसले गर्दा सिनेमाका टिकट सबै बुक हुँदा पनि सिनेमाले हलभित्र दर्शक पाएन ।
सिनेमाका निर्माता गौरीशंकर धुजुले यो कसरी भयो र किन भयो, अनि कसले गर्यो आफूहरु पनि चकित परेको बताएका छन् । नेपालबाहिर त्यसरी टिकट बुक गर्ने व्यवस्थित सिस्टम छ । बुक गर्नेले विभिन्न माध्यमबाट अग्रिम भुक्तानी गरेका हुन्छन् । जसका कारण कारोवारमा समस्या हुँदैन र पैसा तिरेर बुक गर्नेहरु हलमा पुग्छन् । तर शेरबहादुरलाई भने नक्कली बुकको मार परेको हो । यद्यपि दोस्रो सातामा रहेको सिनेमा गोपीकृष्ण, अष्टनारायण र गुण सिनेमा ग्वार्कोमा भने प्रदर्शन भइरहेको छ । सिनेमामा सुनिल थापा, मेनुकाप्रधान, रविन्द्र झा, कर्मा शाक्यलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।